spot_img

समर्थन मूल्यभन्दा माथि गहुँ बिक्री

spot_img
spot_img

कैलाली,१७ वैशाख । कैलालीका किसानहरू यसपटक गहुँ राम्रो मूल्यमा बेच्न पाउँदा उत्साहित बनेका छन्। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी दरमा गहुँ खरिद सुरु भएपछि किसानले राहत महसुस गरेका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड को धनगढीस्थित प्रादेशिक कार्यालयले टीकापुर र धनगढीबाट गहुँ खरिद अभियान सुरु गरेको छ। कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिक्विन्टल ३,९४५ रुपैयाँ समर्थन मूल्यभन्दा बढी, ४,२५० रुपैयाँमा गहुँ खरिद गरिरहेको जनाएको छ।

वरिष्ठ सहायक पुष्पराज बजगाईंका अनुसार बढाइएको मूल्यले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। “बढी मूल्य पाउँदा किसान खुसी छन्, यसले उत्पादनमा पनि सकारात्मक प्रभाव पार्नेछ,” उनले बताए।

टीकापुरस्थित खाद्य गोदाममा गहुँ बिक्री गर्न पुगेका किसान योगेन्द्र साउदले बजारभन्दा राम्रो मूल्य पाएको बताए। “अरू ठाउँमा भन्दा यहाँ बेच्दा फाइदा भयो,” उनले भने।
जोशीपुर–६ का कृषक क्रिमलाल डङ्गौराले पनि समर्थन मूल्यभन्दा बढी रकम पाउँदा सन्तुष्टि व्यक्त गर्दै भविष्यमा पनि समयमै खरिद सुरु गर्न सरकारसँग आग्रह गरे।

यद्यपि केही किसानले भने पहिले नै कम मूल्यमा गहुँ बेचिसकेको गुनासो गरेका छन्। किसान रमेश चौधरीका अनुसार घरखर्च, बालबालिकाको पढाइ र बाली व्यवस्थापनका लागि तत्काल नगद आवश्यक हुने भएकाले धेरैले छिट्टै बिक्री गर्नुपरेको हो।

कम्पनीले यस वर्ष कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको छ। प्रतिकिसान अधिकतम ७० क्विन्टल र सहकारीमार्फत ५०० क्विन्टलसम्म खरिद गर्ने योजना बनाइएको छ।

किसानहरूले समर्थन मूल्यभन्दा बढी दरमा गहुँ बिक्री गर्न पाउँदा कृषि पेशाप्रति हौसला बढेको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि सरकारले समयमै मूल्य निर्धारण र खरिद प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय