वीरगन्ज,१० माघ । प्रेस सेन्टर नेपाल पर्सा शाखाको बैठक सम्पन्न भएको छ । बैठकले प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा माघ १५ गते वीरगन्जमा प्रभातफेरी, रक्तदान कार्यक्रम तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकमा स्थापना दिवसलाई अर्थपूर्ण र समाजमुखी बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम तय गरिएको अध्यक्ष यादवले जानकारी दिए । बैठकमा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति, उद्देश्य र भावी कार्यदिशाबारे प्रष्ट पार्दै पत्रकारहरूको पेशागत भूमिका अझ सशक्त र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गर्दै निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिता आजको आवश्यकता भएको बताए ।
बैठकमा प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दिपक गौतम, जगत राईलगायत सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन सचिव अजित भुजेलले गर्नुभएको थियो । प्रेस सेन्टर पर्साले स्थापना दिवसका कार्यक्रममार्फत पत्रकारहरूबीच एकता मजबुत बनाउँदै निर्वाचनको समयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।

