काठमाडौं,१३ माघ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ। उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका संस्थापक शेयरधनीसहित प्रचलित कानुन अनुसार योग्य व्यक्ति, फर्म, कम्पनी तथा संस्थाले सहभागिता जनाउन सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा समयसीमाभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
कम्पनीका अनुसार तोकिएका सर्त र प्रक्रिया पूरा नगरेका बोलपत्रहरू अमान्य हुनेछन् र लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार विक्रेता तथा बिक्री प्रबन्धकमा निहित रहनेछ।



