जनकपुर,१६ माघ । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको संख्या चिन्ताजनक बन्दै गएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार पछिल्ला ६ महिनामा मधेस प्रदेशभर २ हजार ५७२ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
उक्त अवधिमध्ये पुस महिनामा मात्रै १ हजार ४४८ जना सम्पर्कविहीन भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ। तीमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परिसकेका छन् भने बाँकी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। यसैबीच, मधेस प्रदेश प्रहरी कार्यालयले जेन्जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको विवरण पनि सार्वजनिक गरेको छ। प्रवक्ता थापाका अनुसार उक्त आन्दोलनका क्रममा मधेस प्रदेशमा चार जनाको मृत्यु भएको थियो।
जेन्जी आन्दोलनका कारण प्रदेशभर २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ती कार्यालयहरूमा भएको कुल क्षतिको अनुमान ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। साथै, प्रहरी प्रयोग गर्ने सवारी साधनहरूमा समेत क्षति पुगेको उल्लेख गर्दै कुल २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको क्षति भएको जानकारी दिइएको छ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ५७९ जना पक्राउ परेका छन् भने बाँकी अझै फरार छन्। त्यसैगरी, बाल सुधार गृहबाट फरार भएका ६८ जनामध्ये २० जनालाई नियन्त्रणमा लिइएको छ भने ४८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

