काठमाडौँ,२४ माघ । निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालको प्रयोग बढेसँगै नेपाल प्रहरीले यसको दुरुपयोग रोक्न निगरानी कडा बनाएको जनाएको छ। संवेदनशील समयमा गलत सूचना, गालीगलौज तथा चरित्रहत्या हुने गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालमार्फत मित्थ्या सूचना फैलाउने, भ्रम सिर्जना गर्ने सामग्री प्रकाशन वा सेयर गर्ने गतिविधिमाथि विशेष निगरानी राखिएको छ। यसका लागि विशेष टोली गठन गरी अनुगमन भइरहेको र साइबर ब्यूरोले समेत डिजिटल गतिविधिहरू सूक्ष्म रूपमा निगरानी गरिरहेको उनले जानकारी दिए।
प्रहरीले सामाजिक, जातीय, धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने, व्यक्तिको चरित्रहत्या गर्ने वा शान्ति–सुरक्षामा असर पुग्ने सामग्री उत्पादन र प्रसारण कानुनविपरीत हुने स्पष्ट पारेको छ। तस्बिर, भिडियो वा अभिव्यक्तिलाई काँटछाँट गरी भ्रामक सन्देश फैलाउने कार्य नगर्न र यस्ता सामग्रीलाई लाइक, सेयर वा कमेन्टमार्फत प्रोत्साहन नगर्न पनि आग्रह गरिएको छ।
कानुनविपरीत सामग्री उत्पादन, प्रचारप्रसार वा समर्थनसमेत अपराधको दायरामा पर्ने उल्लेख गर्दै प्रहरीले कुनै पनि सामग्री सेयर गर्नुअघि सत्य–तथ्य पुष्टि गर्न अनुरोध गरेको छ। सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माणमा सबै नागरिकको भूमिका महत्त्वपूर्ण रहने भन्दै प्रहरीले जिम्मेवार सामाजिक सञ्जाल प्रयोग गर्न आह्वान गरेको छ।

