काठमाडौँ,२४ माघ । बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ।
ठगुन्नामाथि जाजरकोटकी एक युवतीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। उनी गत मंसिर २५ देखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशन बसेकी थिइन्।
ठगुन्ना दार्चुला, नौगाड–२ सुन्डमुन्ड घर भएका हुन् र काठमाडौं रामशाहपथ बसोबास गर्दै आएका थिए। उनीविरुद्ध जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको थियो। सो पुर्जी जारी भएपछि ठगुन्ना फरार भएका थिए र यस क्रममा प्रहरीले भारतबाट पक्राउ गरेको हो।
उनमाथि २५ मंसिर २०८० मा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको थियो। त्यतिबेला उनी प्रहरी कर्मचारी थिए, निलम्बित भए र जिल्ला अदालतले २ लाख ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो। त्यसपछि गत जेठमा पुनः जबरजस्ती करणी भएको भन्दै ७ असोजमा जाहेरी दिइएको थियो।
उक्त घटनाका कारण ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर नभएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उनलाई सेवाबाट हटाएको थियो।

