सर्लाही,१४ फागुन । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन् । श्रेष्ठ लामो समय माओवादी पार्टीको मात्रै नभई राष्ट्रिय राजनीतिकै केन्द्रमा रहेका पात्र हुन् । उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनले लामो समय नेकपा माओवादी केन्द्रको उपाध्यक्ष भएर पनि काम गरेका छन् ।
उनको जन्म गोरखाको जौबारीमा २०१६ सालमा भएको हो । सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका श्रेष्ठ सन् १९८० को दशकमा काठमाडौंको सिद्धार्थ वनस्थलीमा केही समय गणितका शिक्षकसमेत बनेका थिए । २०६२-०६३ को जनआन्दोलनका बेलासम्म भूमिगत जीवनमै रहेका श्रेष्ठ त्यसपछि बल्ल सार्वजनिक रूपमा देखिएका हुन् । करिब ६६ वर्ष कटेका श्रेष्ठ हालसम्म अविवाहित छन् ।
२०३३ सालदेखि राजनीतिमा लागेका उनी २०४३ सालमा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम) को केन्द्रीय सदस्य बने । २०४८ सालमा प्रचण्डहरूसँगको एकतापछि बनेको नेकपा (एकता केन्द्र) मा श्रेष्ठ पोलिटब्युरो सदस्य बने । २०५१ सालमा एकता केन्द्र फुट्यो । प्रचण्ड–बाबुरामले नेकपा (माओवादी) गठन गरे र युद्धमा होमिए । श्रेष्ठ भने प्रचण्ड समूहमा नलागी एकता केन्द्रमै रहे र पार्टीको महासचिव बने । एकता केन्द्रको नेतृत्व करिब ८ वर्षसम्म श्रेष्ठसँगै रह्यो । त्यसबेला उनी ‘प्रकाश’ भूमिगत नामले चिनिन्थे ।
यसबीचमा श्रेष्ठले नेतृत्व गरेको एकता केन्द्र र मोहनविक्रम सिंह-चित्रबहादुर केसीले नेतृत्व गरेको नेकपा (मसाल) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र–मसाल) जन्मियो । त्यसको महामन्त्री मोहनविक्रम सिंह थिए भने श्रेष्ठ सहमहामन्त्री बने । तर त्यो एकता लामो समय टिकेन र दुवै पार्टी पुरानै अवस्थामा फर्किए ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र एकता केन्द्रबीच पार्टी एकता भयो । त्यसपछि श्रेष्ठ नेकपा एकीकृत माओवादीको उपाध्यक्ष बने । भूमिगत सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन त्यसबेला श्रेष्ठ र उनको पार्टीका अर्का नेता अमिक शेरचनले महत्वपूर्ण भूमिका निभाएका थिए ।
श्रेष्ठले नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका ढोलराम बारकोटी लगायतसँग प्रतिस्पर्धा गर्दै छन् । राष्ट्रिय सभाको सदस्यबाट राजीनामा दिएर चुनावी मौदानमा उत्रेका श्रेष्ठको राजनीतिक छवी भने सकारात्मक नै छ । तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उनी २०७६ सालमा राष्ट्रिय सभामा प्रवेश गरेको विषयमा आलोचना भएको थियो ।
उनी समानुपातिक प्रणालीबाट पटकपटक र राष्ट्रिय सभामा एकपटक सदस्य भए पनि प्रत्यक्षतर्फ भने अहिलेसम्म निर्वाचित हुन सकेका छैनन् । २०७० को संविधानसभा निर्वाचनमा उनी मकवानपुरबाट र २०७४ को चुनावमा गोरखा- २ बाट पराजित भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा उनी जनमोर्चा नेपालतर्फबाट मनोनीत संविधानसभा सदस्य बनेका थिए । उनी त्यसबेला माओवादीको संसदीय दलका उपनेतासमेत बनेका थिए ।
२०७० र २०७४ को चुनावमा पराजित भएपछि संसद् बाहिर रहेका श्रेष्ठ २०७६ सालमा राष्ट्रिय सभामा प्रवेश गरेका थिए । उनी राष्ट्रिय सभामा माओवादीको संसदीय दलको नेताको भूमिकामा थिए । उनले २०७९ कै चुनावमा सर्लाही-३ बाट उठ्ने चाहना राखे पनि चुनाव लडेनन् ।
नारायणकाजी श्रेष्ठ आफ्नो जिल्ला छोडेर मधेश झरेका हुन् । सर्लाही-३ मा पनि उनलाई जित निकाल्न सहज भने छैन । २०७९ को चुनावमा यस क्षेत्रबाट एमालेका हरि उप्रेतीले चुनाव जितेका थिए भने नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवार दोस्रो भएका थिए । गत निर्वाचनका पहिलो र दोस्रो भएका दुवै जना श्रेष्ठको विपक्षमा उम्मेदवार छन् । उप्रेती एमालेबाट पुनः उम्मेदवार बनेका छन् भने कलवार भने पार्टी फेरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।
राजकीय जिम्मेवारीका हिसाबले श्रेष्ठ २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पहिलो पटक उपप्रधानमन्त्री एवं गृह मन्त्री बनेका थिए । त्यसलगत्तै २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी प्राप्त गरे । २०७९ मा पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा तीन महिना भौतिक पूर्वाधार मन्त्री बनेर काम गरेका उनी त्यसपछि गृहमन्त्री बनेका थिए । फागुन २३-२४ को आन्दोलनपछि श्रेष्ठले माओवादी अध्यक्ष प्रचन्डलाई नेतृत्व छोडेर आफूलाई अध्यक्ष बनाउन पनि प्रस्ताव गरेका थिए ।

