रौतहट,२६ माघ । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) हुँ भन्ने झुटो परिचय दिई विभिन्न व्यक्तिलाई ठगी गर्दै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा स्थायी घर भई हाल कविलासी नगरपालिकामा बसोबास गर्दै आएकी ३५ वर्षीया निर्मला महतो रहेकी छन्। उनले नेहा, निशा र पुनम कुमारीलगायत विभिन्न नाम प्रयोग गर्दै ठगी गरेको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार महतोले भन्सारका कर्मचारीहरूसँग राम्रो पहुँच रहेको दाबी गर्दै सस्तो मूल्यमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगीको सुरुआत गरेकी थिइन्। अनुसन्धानका क्रममा उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र बनाएको खुलेको छ।
सोही नक्कली परिचय प्रयोग गरी माछापुच्छ्रे बैंकमा खाता खोली झुट्टा हस्ताक्षरसहित चेक प्रयोग गरेर रकम ठगी गरिएको प्रहरीले जनाएको छ। यसैगरी, उनले चन्द्रपुरस्थित एक ज्वेलर्सबाट २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदी उधारो लिएर नतिरेको, एक व्यक्तिबाट घरायसी समस्या देखाएर ५ लाख रुपैयाँ सापटी लिएको तथा किराना पसल र गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ नतिरेको पाइएको छ।
विश्वास दिलाउन उनले आफू प्रहरी भएको भन्दै नक्कली परिचय दिने गरेको पनि खुलेको छ। प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि उनले लामो समयसम्म आफ्नो वास्तविक परिचय लुकाउँदै आएकी थिइन्।
प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार बैंक खाता, कागजात र अन्य प्रमाणको गहिरो अनुसन्धानपछि मात्र उनको असली पहिचान खुलेको हो। हाल उनलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




