काठमाडौं,२१ वैशाख । काठमाडौंको माईतीघर मण्डलामा राष्ट्रिय एकता दलले सीमाक्षेत्रमा लागू गरिएको १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने नियम खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सीमावर्ती क्षेत्रका नागरिकमाथि विभेदपूर्ण व्यवहार भइरहेको आरोप लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले “सीमामा अन्याय बन्द गर”, “१ सयको नियम हटाऊ”, “डोजर आतंक बन्द गर” जस्ता नारासहित विरोध जनाएका थिए । उनीहरूले गरीब नागरिकमाथि कडाइ गरिँदा एयरपोर्टमार्फत हुने सुन र मदिरा ओसारपसारमा सरकारले उदारता देखाएको आरोप लगाए ।
दलका अध्यक्ष विनय यादवले सीमाक्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर सरकारले अन्यायपूर्ण नीति लागू गरेको दाबी गरे । उनले किसान र मजदुरले ल्याउने सामान्य सामानमा समेत कडाइ गरिनु गलत भएको भन्दै यस्तो दोहोरो मापदण्ड तत्काल अन्त्य गर्नुपर्ने बताए ।
प्रदर्शनकारीहरूले पूर्वसूचना बिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यप्रति पनि आपत्ति जनाएका छन् । उनीहरूले सरकारले गरीब र विपन्न वर्गमाथि दमनकारी नीति लिएको आरोप लगाउँदै माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

