काठमाडौं,२१ वैशाख । नेपालभर हाल तीनवटा मौसमी प्रणाली एकैसाथ सक्रिय हुँदा मौसम अस्थिर बनेको छ। पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशका अधिकांश भागमा वर्षा, हुरीबतास र चट्याङको असर देखिएको हो।
सुदूरपश्चिमबाट प्रवेश गरेको वर्षा प्रणाली क्रमशः लुम्बिनी, बागमती र मधेस प्रदेशतर्फ फैलिएको छ। यसको प्रभावले बागमती, मधेससहित काठमाडौं उपत्यकामा पनि वर्षा सुरु भएको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार करिब ४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हुरीबतासले केही क्षेत्रमा दुई घण्टासम्म असर पुर्याउन सक्छ। हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी एक सातासम्म देशभर मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण गरेको छ। मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट जनधनको क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

