बीरगन्ज, २१ वैशाख । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण पर्साको ठोरी क्षेत्र पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिए पनि यहाँका स्थानीयवासी भने आधारभूत आवश्यकताकै अभावमा जीवनयापन गर्न बाध्य छन्। विशेषगरी पिउने पानीको समस्या वर्षौंदेखि समाधान हुन नसक्दा जनजीवन कष्टकर बन्दै गएको छ।
ठोरी तीनतर्फबाट वन क्षेत्रले घेरिएको अनौठो भूगोलमा अवस्थित छ। यसलाई पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ ले घेरेका छन्, जसले यस क्षेत्रलाई दुर्लभ प्राकृतिक संगम बनाएको छ। बाघ, हात्ती, हरिण र बाँदरजस्ता वन्यजन्तुको उपस्थितिले यहाँको आकर्षण अझ बढाएको छ।
तर यति धेरै सम्भावना हुँदाहुँदै पनि स्थानीय बासिन्दा आधारभूत सेवाबाट वञ्चित छन्। ठोरी–४ अन्तर्गत मिल र विशाल चोक टोलका करिब ४५ घरधुरी अझैसम्म सुरक्षित खानेपानीको पहुँचबाट टाढा छन्। स्थानीय रामबहादुर पाख्रिनका अनुसार बासिन्दा अहिले पनि खोलाको पानी प्रयोग गर्न बाध्य छन्।
“वर्षौँअघि खोलाबाट पाइपलाइन जोडेर धारा बनाइएको थियो, तर अहिले ती सबै सुकिसकेका छन्,” उनले बताए।
पानी अभावको सबैभन्दा ठूलो असर महिलामा परेको छ। उनीहरू दिनहुँ घण्टौँ समय पानी ल्याउनमै खर्च गर्न बाध्य छन्। स्थानीय सिर्जना श्रेष्ठका अनुसार गर्मी र वर्षायाममा समस्या झन् गम्भीर बन्छ।
“हिउँदमा एउटै धारामा पालो कुर्दा पनि पानी सकिन्छ, अहिले त त्यो पनि सुकिसक्यो,” उनले भनिन्, “अब टाढा पुगेर पानी ल्याउनुपर्छ।”
यो समस्या केही बस्तीमा मात्र सीमित छैन। ठोरी गाउँपालिकाभर करिब एक हजार घरधुरीका दुई हजारभन्दा बढी नागरिक पिउने पानीको अभाव झेलिरहेका छन्। सिँचाइ सुविधा नहुँदा खेतीपातीसमेत प्रभावित भएको छ, जसले स्थानीयको आम्दानी र जीवनस्तरमा प्रत्यक्ष असर पारेको छ।
स्थानीयहरूका अनुसार पानीजस्तो आधारभूत आवश्यकता नै पूरा हुन नसक्दा पर्यटन विकासको सम्भावना पनि ओझेलमा परेको छ। उचित योजना, व्यवस्थापन र पूर्वाधार विकास भए ठोरीलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहे पनि हालको अवस्थाले त्यो लक्ष्य टाढिँदै गएको छ।

