जनकपुर,२१ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकार परिवर्तन हुने चर्चा निराधार रहेको बताएका छन्। सोमबार जनकपुरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार स्थिर रूपमा अगाडि बढिरहेको दाबी गरे।
मुख्यमन्त्री यादवले बजेट निर्माणको महत्वपूर्ण चरणमा सरकार परिवर्तनको प्रयास हुनु प्रदेश र जनताको हितविपरीत हुने चेतावनी दिए। उनले अहिलेको समय सरकार परिवर्तनको होइन, विकास र बजेट कार्यान्वयनमा केन्द्रित हुने समय भएको उल्लेख गरे।
उनका अनुसार प्रदेशसभामा रहेका सबै दल र सांसदहरू वर्तमान राजनीतिक परिस्थितिप्रति सचेत रहेकाले सरकार परिवर्तनको सम्भावना नरहेको बताए।
मुख्यमन्त्री यादवले भने, “अहिले बजेट निर्माणको पूर्वसन्ध्या हो। यस्तो बेला सरकार परिवर्तनको सोच राख्नु मधेश प्रदेशकै लागि दुर्भाग्यपूर्ण हुनेछ।”
उनले प्रदेशमा राजनीतिक स्थिरता कायम राखेर विकासका कामलाई गति दिन सबै दलहरू एकमत रहेको दाबी पनि गरे।

