काठमाडौँ,०४ फागुन । मधेस प्रदेश सरकारले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा थप सशक्त बनाउने उद्देश्यले भारतको अयोध्यासँग सिधा हवाई उडान सञ्चालन गर्ने तयारी अघि बढाएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मिथिला मध्यमा परिक्रमा अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनकपुर र अयोध्याबीच हवाई सम्पर्क स्थापना गर्ने पहल भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार यो योजना कार्यान्वयनमा आएमा मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्नेछ। प्रदेश सरकारले जनकपुरलाई रामायण सर्किटसँग जोड्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ। सीता सर्किट र रामायण सर्किटबीचको समन्वयले जनकपुर मात्र नभई समग्र मधेस प्रदेशलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
मुख्यमन्त्री यादवले योजना अगाडि बढाउन छिट्टै भारत भ्रमण गरी सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी भइरहेको बताए। यस सम्बन्धमा सकारात्मक संकेत प्राप्त भइसकेको र प्रक्रिया छिट्टै अघि बढाइने उनको भनाइ छ।
साथै, जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि संघीय सरकारसँग छलफल जारी रहेको जानकारी दिँदै उनले विमानस्थल विस्तारपछि अयोध्याबाट सिधा उडान सञ्चालन गर्न सके दैनिक पाँच सयभन्दा बढी भारतीय दर्शनार्थी जनकपुर आउने सम्भावना रहेको उल्लेख गरे।

