रौतहट,०४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन्। ४५ वर्षीय महन्थ राय यादवले ३५ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार दम्पतीबीच केही वर्षदेखि सम्बन्ध राम्रो थिएन। महन्थ गाउँ नजिकै सानो होटल सञ्चालन गर्दै आएका थिए भने आरती विगत तीन वर्षदेखि विभिन्न स्थानमा बस्दै आएकी थिइन्। पाँच दिनअघि मात्र उनी घर फर्किएकी थिइन्। पारिवारिक विवादकै कारण उनका दुई छोरा हाल गरुडा नगरपालिकास्थित मामाघरमा बस्दै आएका छन्।
शनिबार राति सँगै खाना खाएर सुतेका दम्पती आइतबार बिहान अबेरसम्म बाहिर नदेखिएपछि स्थानीयवासीले शंका गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय सन्तपुरलाई खबर गरिएको थियो। प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा आरती मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनको टाउको र घाँटीमा धारिलो हतियारले प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट सानो बन्चरो र मासु काट्ने दाउ बरामद गरिएको छ।
घटनापछि आरोपित महन्थ फरार छन्। स्थानीय स्रोतका अनुसार फोन सम्पर्कमा उनले श्रीमतीमाथि चरित्रसम्बन्धी आरोप लगाउँदै हत्या गरेको बताएका थिए। उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने संकेत दिएको बताइएको छ, तर आधिकारिक पुष्टि भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान पूरा नभएसम्म घटनाको कारणबारे निष्कर्षमा नपुग्ने स्पष्ट पारेको छ।

