जनकपुर,०६ फागुन । सर्लाहीका उखु किसान चिनी मिलबाट चलान पुर्जी नपाउँदा समस्यामा परेका छन्। काटेर खेतमै राखिएको उखु दिनौँसम्म मिलमा लैजान नपाउँदा सुक्न थालेको भन्दै किसानहरूले गुनासो गरेका छन्।
बरहथवा नगरपालिका–१३ बसबरियाका महमजान मियाँले १० कट्ठाको उखु काटेर राखेको १२ दिन बितिसक्दा पनि चिनी मिलबाट चलान नपाएको बताए। उनका अनुसार चलान पुर्जी नपाउँदा काटिएको उखु खेतमै थुपारेर राख्न बाध्य हुनुपरेको छ। किसानले उखु मिलमा लैजानुअघि उद्योगबाट चलान अनुमति लिनुपर्ने व्यवस्था छ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनले राखेको तौल काँटामा चलान लिन जाँदा बेवास्ता गरिएको मियाँको आरोप छ। यसैगरी रामनगर गाउँपालिका–२ का रामप्रवेश यादवले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा उखु ल्याएपछि पनि चलानका लागि दिनौँ लाइन बस्नुपरेको बताए।
किसानका अनुसार चिनी मिलहरूले आफ्नो क्षेत्रभित्रको उखु मात्र खरिद गर्ने निर्णय गरेपछि समस्या झनै बढेको छ। मिलले सीमित मात्रामा चलान वितरण गर्दा काटिएको उखु खेतमै सुक्ने अवस्था आएको उनीहरूको भनाइ छ। पहुँच भएकाले छिटो चलान पाउने तर अन्य किसानले लामो समय कुर्नुपर्ने अवस्था रहेको आरोपसमेत किसानहरूले लगाएका छन्।
यसअघि किसानले आफूलाई सहज हुने चिनी मिलमा उखु बिक्री गर्न पाउने व्यवस्था रहे पनि यस वर्ष लागू गरिएको प्रणालीका कारण सर्लाहीका किसान प्रभावित भएको बताएका छन्। कतिपय किसानले चलान वितरणमा बिचौलियाको चलखेलसमेत हुने गरेको आरोप लगाएका छन्।
यता इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले यस वर्ष उखु खेती क्षेत्र बढेकाले सबै किसानलाई एकैपटक चलान दिन नसकिएको बताए। उद्योगले उखु पेल्ने क्षमताअनुसार मात्र चलान वितरण गरिएको उनको भनाइ छ।
सर्लाहीमा करिब १८ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ। जिल्लामा इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल गरी तीनवटा चिनी मिल सञ्चालनमा छन्। अहिले ती उद्योगका उखु यार्ड तथा तौल काँटामा चलानको प्रतीक्षामा ट्याक्टर, टायरगाढा र ट्रकको लामो लाइन देखिने गरेको छ।
किसानहरूले मिलले स्पष्ट तालिका बनाएर पालैपालो चलान वितरण गरे मात्रै समस्या समाधान हुने बताएका छन्।


