राष्ट्रका धरोहर संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड

spot_img

काठमाडौँ,०७ फागुन । केपी शर्मा ओलीले संविधानको रक्षा गर्दै जनताको अधिकारलाई व्यवहारमै सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै राष्ट्रको स्वाधीनता, गरिमा र ऐतिहासिक सम्पदाको संरक्षण आजको प्रमुख दायित्व भएको बताएका हुन्।

शुभकामना सन्देशमार्फत उनले राष्ट्रिय पहिचान र गौरवसँग जोडिएका धरोहरहरू समयक्रममा क्षतविक्षत हुँदै गएको उल्लेख गर्दै तिनको संरक्षण र पुनर्स्थापना गर्न राज्य र नागरिक दुवै सचेत हुनुपर्नेमा जोड दिए। उनले संविधानलाई केवल दस्तावेजको रूपमा नभई जनताको अधिकार र स्वतन्त्रताको आधारस्तम्भका रूपमा व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गरे।

ओलीले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानको प्रतीकका रूपमा स्मरण गर्दै राणा शासनको अन्त्यसँगै स्वतन्त्रता र अधिकारको नयाँ युग सुरु भएको ऐतिहासिक दिनको रूपमा वर्णन गरे। उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने सहिदहरू — शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ — प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान सधैं प्रेरणाको स्रोत रहने बताए।

उनले अन्त्यमा नेपालको राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै समृद्ध भविष्य निर्माण गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय