छपकैया पोखरी संरक्षण अभियानमा सक्रिय ४० जना सम्मानित

spot_img

वीरगन्ज,१८ वैशाख । वीरगन्ज महानगरपालिका–२ स्थित ऐतिहासिक छपकैया पोखरी संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने स्थानीय अभियन्ता जफरुल मिया (जफर) सहित करिब ४० जनालाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ।

भू–माफियाको अतिक्रमणको जोखिममा परेको करिब चार बिघा क्षेत्रफलको उक्त सार्वजनिक पोखरी जोगाउन स्थानीय अभियन्ताहरूले वर्षौंदेखि कानुनी, सामाजिक र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका थिए।

महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले सम्मानपत्र प्रदान गर्दै सार्वजनिक सम्पत्ति संरक्षणमा स्थानीयवासीले खेलेको भूमिका प्रेरणादायी भएको बताए। सम्मानित अभियन्ता जफरुल मियाले लामो संघर्षको यात्रामा महानगरपालिकाले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राखे।

गत चैत १७ गते पर्सा जिल्ला अदालतले छपकैया पोखरीलाई सार्वजनिक सम्पत्तिको रूपमा कायम गर्ने ऐतिहासिक फैसला सुनाएको थियो। अदालतले भू–माफियाको दाबी खारेज गर्दै पोखरी संरक्षणको पक्षमा निर्णय गरेको हो।

अदालतमा प्रमाण पेश गर्न जफरुल मिया नेतृत्वको टोलीले २०३१ सालदेखिका नगर पञ्चायतका रसिद, बोर्ड बैठकका निर्णय तथा अन्य ऐतिहासिक कागजात संकलन गरेको थियो। ती प्रमाणले पोखरीको सार्वजनिक अस्तित्व पुष्टि गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। स्थानीयवासीका अनुसार छपकैया पोखरी संरक्षणको यो अभियानले सार्वजनिक सम्पत्ति जोगाउन नागरिकस्तरबाट पनि प्रभावकारी संघर्ष सम्भव हुने सन्देश दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय