spot_img

जनताको दुःखसुखमा साथ दिने नेतृत्व छान्न आग्रह गर्दै घरदैलोमा एमालेका उम्मेदवार यादव

spot_img
spot_img

वीरगन्ज,०७ फागुन । पर्सा क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवले मतदातासँग जनताको समस्या बुझ्ने र साथ दिने नेतृत्वलाई मत दिन आग्रह गरेका छन्। उनले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलो अभियानका क्रममा यादवले मतदाताको घर–घरमा पुगेर जनताको सुखदुःखमा निरन्तर साथ दिने नेतालाई छनोट गर्नुपर्नेमा जोड दिए। पूर्वमन्त्री समेत रहेका उनले फागुन २१ गते हुने निर्वाचनले देशको भावी दिशा निर्धारण गर्ने भएकाले सही नेतृत्व चयन गर्नु महत्वपूर्ण रहेको बताए।

उनले आफ्नो अघिल्ला दुई कार्यकालमा क्षेत्रको विकास र जनताको सेवामा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै त्यसको मूल्यांकन गरेर समर्थन गर्न मतदातासँग आग्रह गरे। आफू चुनावका बेला मात्र देखिने नेता नभएको दाबी गर्दै उनले जनतासँग निरन्तर सम्पर्कमा रहेको बताए।

यादवले व्यापारी मानसिकताले राजनीति गर्दा जनताको हित ओझेलमा पर्ने टिप्पणी गर्दै जनताको सेवा गर्ने प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताए। उनले मुलुकको वर्तमान चुनौती समाधान गर्दै विकास र समृद्धिको दिशामा अघि बढाउन एमाले सक्षम रहेको दाबी पनि गरे।

घरदैलो कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता शम्भु गुप्ता, सुन्दर कुर्मी तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियालगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय