बीरगन्ज,१० फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामनरेशप्रसाद यादव प्रभावशाली नेताहरूको भिडलाई पन्छाउँदै उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेश अध्यक्ष बालकिशोरप्रसाद यादव तथा २०७९ को निर्वाचनमा विजयी पूर्वमन्त्री प्रदीप यादवसमेत उम्मेदवार बन्ने दौडमा थिए । तर अन्ततः पार्टीले रामनरेशलाई अघि सारेपछि उनको उपस्थिति क्षेत्रमा अर्थपूर्ण र बलियो रूपमा हेरिएको छ ।
पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका यादव हाल जसपा नेपाल पर्सा जिल्लाका अध्यक्ष हुन् । लामो समयदेखि मधेशवादी राजनीतिमा सक्रिय यादव शिक्षण, कृषि र समाजसेवामा समेत संलग्न रहँदै आएका छन् । उनी पर्सा जिल्लामा जसपा नेपालका प्रमुख स्थानीय अनुहारमध्ये एक मानिन्छन् ।
२०७९ सालमा यादव पर्सा-२ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा पराजय भोगे पनि उनले पार्टी संगठन र स्थानीय राजनीति छोडेनन् । बरु, त्यसपछि संगठन विस्तार र जनसम्पर्कमा झन् सक्रिय बनेको जसपाले जनाएको छ । यसअघि पर्सा-१ बाट जसपा नेपालकै उम्मेदवार प्रदीप यादव निर्वाचित भएका थिए । यसपटक पनि सोही पार्टीको निरन्तरता स्वरुप रामनरेश मैदानमा आएका छन्
कृषि क्षेत्रको आधुनिकीकरण, बेरोजगार युवाका लागि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, दिगो स्वास्थ्य सेवा र सडक पूर्वाधार विकास उनका प्रमुख एजेन्डा हुन् । जिल्ला अध्यक्षको हैसियतमा उनले जसपा नेपालको संगठन मजबुत बनाउनुका साथै युवा, महिला, व्यवसायी, सामाजिक अभियन्ता र स्थानीय बुद्धिजीवीसँग नियमित संवाद गर्दै आएको पार्टीको दाबी छ ।

