काे हुन बारा–२ का उम्मेदवार बलवीरप्रसाद चौधरी ?

spot_img

बारा,११ फागुन । नेकपा (एमाले) ले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि बलवीरप्रसाद चौधरीलाई उम्मेद्वार बनाएको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलन, जनआन्दोलन र पार्टी संगठनमा सक्रिय चौधरीलाई अनुभवी तथा स्थापित नेताका रूपमा एमालेले अघि सारेको हो।

बारा जिल्लाको करैयामाई गाउँपालिका–५ मा जन्मिएका चौधरीको जन्म वि.सं. २०२६ साल कार्तिक १५ गते भएको हो। बाबु भैराम चौधरी र आमा भुवनी देवीका सन्तान चौधरीले आईएसम्मको अध्ययन पूरा गरेका छन्।

चौधरीले वि.सं. २०३५ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को जनआन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए। २०५६ सालदेखि निरन्तर नेकपा (एमाले) मा सक्रिय रहँदै आएका उनी पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

उनी २०५४ सालमा बारा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए । २०७0 मा भएको संविधान सभा निर्वाचनमा भने चौधरी तत्कालीन बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीलाई ५ हजार १२९ मतले पराजित गरेका थिए ।

३ असोज २०७२ मा संघीय संविधान जारी भएपछि नेकपा एमालेले उनलाई २०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश क्षेत्र (२) बाट उम्मेद्वार बने पनि पराजय भोगे। बलवीर हाल नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यका रूपमा पार्टी जिम्मेवारी सम्हालिरहेका छन्।

पार्टी संगठन सुदृढीकरण, जनआन्दोलन र स्थानीय विकासका सवालमा निरन्तर सक्रिय चौधरीलाई एमालेले बारा–२ मा बलियो उम्मेद्वारका रूपमा प्रस्तुत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय