बीरगन्ज,०६ असार । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने कानुनी समयसीमा असार १० नजिकिँदै गर्दा पर्सा जिल्लाका अधिकांश स्थानीय तह अझै तयारीमै अल्झिएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका अनुसार सबै स्थानीय तहले सो मितिभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ।
जिल्लाका १४ स्थानीय तहमध्ये हालसम्म केवल ४ पालिकाले मात्र पूर्ण बजेट ल्याएका छन्। सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी गाउँपालिका र पर्सागढी नगरपालिकाले समयमै नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन्।
यता, जगरनाथपुर, कालिकामाई र विन्दवासिनी गाउँपालिकाले भने नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेका छन्। बजेटको विस्तृत आर्थिक पक्ष अझै सार्वजनिक भइसकेको छैन।
जिल्लाको एक मात्र महानगर, बीरगन्ज महानगरपालिकाले भने कानुनी समयसीमाकै दिन असार १० गते बजेट ल्याउने तयारी गरेको जनाएको छ। महानगरले नीति, कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने काम अन्तिम चरणमा पुगेको बताइएको छ।
बाँकी ६ स्थानीय तहले बजेट तयारी भइरहेको दाबी गरे पनि सभा बस्ने मिति नै तय गर्न सकेका छैनन्। समयमै बजेट नल्याएमा संघीय अनुदान र राजस्व बाँडफाँडमा कानुनी समस्या आउन सक्ने भएकाले ती पालिकामाथि दबाब बढ्दै गएको छ।
तर, आन्तरिक राजनीतिक खिचातानी, राजस्व व्यवस्थापनमा अन्योल र प्राविधिक तयारीको ढिलाइका कारण पर्साका धेरै स्थानीय तहलाई तोकिएको समयभित्र बजेट ल्याउन चुनौती देखिएको छ।




