spot_img

जनकपुरधाममा अन्तर्राष्ट्रिय रङ्गशाला शिलान्यास यसै वर्ष गर्ने मुख्यमन्त्री यादवको घोषणा

spot_img
spot_img

जनकपुर,०७ असार । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालाको शिलान्यास यसै वर्ष गरिने बताएका छन्।

शनिबार जनकपुरधाममा मधेश प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको ‘खेली मधेश, जिती मधेश’ नारासहितको नेकोस कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले खेलकुद पूर्वाधार विस्तारलाई प्रदेश सरकारको प्राथमिकता रहेको बताए।

उनका अनुसार करिब २५६ करोड रुपैयाँ लागतमा बन्ने उक्त अन्तर्राष्ट्रिय रङ्गशालाको शिलान्यास यसै वर्ष गरिने तयारी भइरहेको छ। साथै उनले वीरगन्ज रङ्गशालासहित प्रदेशका आठवटै जिल्लामा खेल पूर्वाधार विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

मुख्यमन्त्री यादवले खेलकुदलाई युवालाई सकारात्मक दिशामा अघि बढाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले खेलकुदको व्यावसायीकरण र खेलाडी–राज्य सम्बन्ध सुदृढ बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए।

नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंहले खेलकुद विकासमा केवल योजना होइन, व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए। त्यस्तै, खेलकुद परिषद्का सदस्यसचिव शिवजी गुप्ताले प्रतियोगितामार्फत युवालाई राज्यसँग जोड्ने उद्देश्य रहेको जानकारी दिए।

परिषद्का अनुसार खेलाडीलाई मासिक भत्ता र खेलाडी बिमाको व्यवस्था गर्ने योजना समेत अघि बढाइएको छ। असार ६ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र सशस्त्र प्रहरी बल नेपालका टोली सहभागी छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय