चितवन,०७ असार । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबारबाट सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न विपक्षी दलका शीर्ष नेताहरूको सहभागिता रहने भएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्। उनीहरू महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको छ।
राप्रपाका अध्यक्ष लिङ्देन उद्घाटन समारोहमा सहभागी हुन कार्यक्रमस्थल पुगिसकेका छन्।
त्यसैगरी, काठमाडौं महानगरपालिकाका प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि पत्नी सबिना काफ्ले र छोरीसहित भरतपुर पुगेका छन्। महाधिवेशनको उद्घाटन उनले घण्टी बजाएर गर्ने तय गरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा करिब चार महिनाअघि स्थापना भएको रास्वपाले पहिलो निर्वाचनमै २० सिट जित्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको थियो। त्यसयता पार्टीले आफ्नो संगठन विस्तार र राजनीतिक प्रभाव बढाउने प्रयासलाई निरन्तरता दिँदै आएको छ।




