spot_img

बाराको मटिअर्वा नाकामा भारतीय एसएसबीले बढायो सुरक्षा जाँच

spot_img
spot_img

बीरगन्ज,०६ असार । बाराको मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुरक्षा जाँचमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रमा आवत–जावत गर्ने नेपालीहरू समस्यामा परेका छन्।

पछिल्लो दुई दिनदेखि भारतीय पक्षले नाकामा कडाइ गर्न थालेपछि नेपाली नागरिकहरूलाई घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यता भएको छ। कलैया उपमहानगरपालिका–१० सँग जोडिएको यो नाकाबाट भारतको आदापुर बजार जाने नेपालीहरू बढी प्रभावित भएका छन्।

स्थानीयवासीका अनुसार पहिले सहज रूपमा आवत–जावत हुने गरे पनि अहिले एसएसबीले नेपालीको नागरिकता र सवारीसाधनका कागजात कडाइका साथ जाँच गर्न थालेको छ। यसका कारण कतिपय मानिस लामो समय कुर्न बाध्य भएर फर्किन थालेका छन्।

भारतीय बजारमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र अन्य सामान सस्तो हुने भएकाले सीमावर्ती नेपालीहरू नियमित रूपमा त्यहाँ किनमेल गर्न जाने गर्छन्। तर हालको कडाइका कारण किनमेल गरेर फर्किँदा पनि सामान जाँचमा कडाइ गरिएको स्थानीयको भनाइ छ।

यसअघि एकै साइकलमा दुई बोरा चामलसम्म लैजान पाइने भए पनि अहिले मात्रा सीमित गरिएको र केहीको सामान जफत समेत गरिएको गुनासो छ। कडाइका कारण केही स्थानीयले वैकल्पिक रूपमा खेतका बाटो प्रयोग गर्न थालेका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले मटिअर्वा नाकामा एसएसबीले सुरक्षा जाँच कडाइ गरेको जानकारी सशस्त्र प्रहरीमार्फत प्राप्त भएको बताएका छन्। उनले यस विषयमा भारतीय पक्षसँग बुझ्ने तयारी भइरहेको समेत जनाएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय