बारा,११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा ललन शाह तेलीलाई अघि सारेको छ। लामो समयदेखि स्थानीय तह र पार्टी संगठनमा सक्रिय तेली यसपटक पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।
महागढीमाई नगरपालिका–७, बारा स्थायी ठेगाना भएका तेलीको जन्म वि.सं. २०४८ पौष ११ गते भएको हो। मङ्गल शाह तेली र चन्द्रकला देवी शाहका सुपुत्र तेलीले एस.एल.सी. तहसम्म अध्ययन गरेका छन्। तेलीले वि.सं. २०६८ मा नेकपा (एमाले) बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। २०७२ मा युवा संघमार्फत जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरे ।
२०७६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेपछि उनी जिल्लास्तरीय राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् । हाल उनी राप्रपा बारा जिल्ला सचिवको जिम्मेवारीमा छन् । तेली २०७४ सालको स्थानीय निर्वाचनमा बाराको तेलकुवा गाविसको वडा अध्यक्षमा निर्वाचित भएका थिए। २०७६ मा राप्रपाबाट जिल्ला विकास समितिको सदस्य बनेर स्थानीय विकास तथा प्रशासनिक काममा संलग्न रहे।
२१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लालबाबुलाई उम्मेदवार बनाएको छ ।

