काे हुन सर्लाही–२ का उम्मेदवार महिन्द्र राय यादव ?

spot_img

सर्लाही,१४ फागुन । सर्लाही, हरिपुर्वा नगरपालिका-९ मा जन्मिएका महिन्द्र राय यादव नेपाली राजनीतिमा नयाँ नाम होइन । २०५१ र २०५६ सालमा सर्लाही–१, २०७० सालमा सर्लाही–५, २०७४ र २०७९ मा सर्लाही–२ बाट उनी चुनाव लडेका थिए ।
समानुपातिक सूचीबाट २०६४ सालको संविधानसभा सदस्य बनेका यादव त्यसयता विभिन्न समयमा तीन पटकसम्म मन्त्री भइसकेका छन् । उनले २०५१ र २०५६ सालमा नेकपा (एमाले)बाट चुनाव जितेका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव लडेर जित निकालेका थिए । उनले राजेन्द्र महतोलाई पराजित गरेका थिए । २०७४ सालकै प्रतिनिधिसभा निर्वाचनमा राजपा नेपालबाट सर्लाही-२ मा चुनाव लडे । यो चुनावमा उनले कांग्रेसका जंगीलाल रायलाई पराजित गरे ।

त्यसपछि डा. बाबुराम भट्टराई र यादव अध्यक्ष रहने गरी नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको थियो । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी नेसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेका थिए । लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै उनले जित निकाले । यादवले महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका थिए ।

एसएलसीसम्मको अध्ययन पूरा गरेका यादव लोकतान्त्रिक मूल्यमा दृढ, अनुभवी र प्रक्रियामुखी राजनीतिज्ञको रूपमा पनि परिचित छन् । तर, उनलाई मन्त्री हुँदा ठूला उपलब्धि देखाउन नसकेकाले जनअपेक्षा पूरा गर्न नसकेको आलोचना हुने गरेको छ ।

नेसपाका अध्यक्ष रहेका यादव यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलमा थिए । मधेश आन्दोलनसँगै उनी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा आबद्ध रहे । डा. बाबुराम भट्टराईसँगको एकता पनि धेरै समय टिकेन । २०८० मा यादव, गंगानारायण श्रेष्ठलगायत छुट्टिएर बनेको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए ।

तर, लामो समयसम्म पनि एकता नभएपछि गंगानारायणसहितका नेता माओवादी केन्द्रमा मिल्न गएका थिए भने यादव नेसपामा नै रहेका छन् । यसपटकको चुनामा उनी नेपाली कम्युनिस्ट पार्टीकै चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् । २१ फागुनमा हुने निर्वाचनमा यादवसँग राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, नेपाली कांग्रेसका डा. सरोजकुमार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो प्रतिस्पर्धामा छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय