वीरगन्जमा भत्काइएका संरचनाका सामग्री हटाउन सुरु

spot_img

बीरगन्ज,१० वैशाख । मुख्य सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाएपछि अब तिनका अवशेष व्यवस्थापन गर्ने काम सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा ले आइतबारदेखि वीरगन्जको गण्डकदेखि सीमावर्ती मितेरी पुलसम्मको क्षेत्रमा सडक पेटीमा थुपारिएका सामग्री हटाउन थालेको हो।

यो काम अघि बढ्नुअघि सडक किनारामा छरिएका निर्माण सामग्रीका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या भएको विषयमा ध्यानाकर्षण भएको थियो। त्यसपछि वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालयबीच समन्वय गरी सफाइ तथा व्यवस्थापनको काम अघि बढाइएको हो।

कार्यालयका इन्जिनियर मदनमोहनकुमार सिंहका अनुसार सामग्री हटाउन आवश्यक उपकरण परिचालन गरिएको छ। सडक डिभिजन कार्यालयले टिप्पर र जेसीबी उपलब्ध गराएको छ भने महानगरपालिकाले थप टिप्पर र ट्याक्टर परिचालन गरेको छ।

गण्डकदेखि मितेरी पुलसम्म करिब सात किलोमिटर क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन दुई दिन लागेको थियो। तर, सवारी चाप र ट्राफिक जामका कारण सडक पेटीमा थुपारिएका सामग्री पूर्ण रूपमा हटाउन भने करिब एक साता लाग्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले सडक क्षेत्र खुला राख्न र पुनः अतिक्रमण हुन नदिन नियमित निगरानी गर्ने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय