इलाम,२४ फागुन । इलाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आफूलाई जित दिलाउने मतदाताप्रति आभार व्यक्त गर्दै जनताको मतको सम्मान हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
सदरमुकामस्थित इलाम चोकबजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले इलाम–२ का मतदाताले दिएको विश्वासलाई उच्च सम्मान गर्दै जिल्लाको विकास र हितका लागि समर्पित भएर काम गर्ने बताए।
नेम्वाङले इलाममा पछिल्ला तीन वर्षमा तीन पटक चुनाव लड्दा प्रत्येक निर्वाचनमा मतदाताबाट प्राप्त समर्थनलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे। उनले २०७९ को निर्वाचनमा आफ्ना पिता सुवास नेम्वाङ चुनावी मैदानमा हुँदा परिस्थिति निकै कठिन रहेको स्मरण गर्दै २०८१ को उपनिर्वाचनमा मतदाताले गरेको विश्वासलाई संसदमा आफ्नो १६ महिनाको कार्यकालमा खेर जान नदिएको बताए।
उनले अहिले पनि इलामवासीले दिएको विश्वासलाई कायम राख्दै संसदमा इलामको आवाज बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
“संख्यामा सानो हुन सक्छौं, तर संसदमा एमालेको धारणा र इलामका जनताले दिएको एक–एक मतको सम्मान हुने गरी बोल्नेछु,” उनले भने।
नेम्वाङले देश अप्ठ्यारो अवस्थामा पर्दा वा सरकारले गलत कदम चाल्दा त्यसलाई सच्याउन आफूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि देश र जनताको पक्षमा दृढ भएर उभिने बताए।
त्यसैगरी, विपदबाट प्रभावित इलामका अधुरा काम पूरा गर्ने तथा पुनर्निर्माणलाई अगाडि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए।
नेम्वाङ २२ हजार ४२६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

