टिकटकमा ३२ लाख फलोवर्स भएका उमर खानले चुनावमा पाए २४० मत मात्रै

spot_img

बीरगन्ज,२५ फागुन ।  सामाजिक सञ्जाल टिकटकमा लाखौं दर्शकको मन जितेका चर्चित टिकटकर मोहम्मद उमर खानले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२मा निराशाजनक नतिजा सामना गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खानले जम्मा २४० मत मात्रै प्राप्त गरेका छन्। टिकटकमा ठूलो लोकप्रियता भए पनि उनले मतदाताको विश्वास भने जित्न नसकेको निर्वाचन परिणामले देखाएको छ।

खानको ‘अफिसियल उमरखान२’ नामक टिकटक आइडीलाई ३२ लाखभन्दा बढीले पछ्याएका छन् भने उनका भिडियोहरू एक करोड ९४ लाखभन्दा बढी पटक हेरिएका छन्। विशेषगरी ९० को दशकका रोमान्टिक हिन्दी गीत र चर्चित नेपाली गीतहरूमा अभिनय गर्दै उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाएका हुन्। टिकटकमा मेलिना पन्तसँगको उनको जोडी दर्शकमाझ निकै चर्चित मानिन्छ।

तेक्वान्डो खेलमा ४३ स्वर्ण पदक जितिसकेका खान चितवनमा मदरसा विद्यालय सञ्चालन गर्दै आएका छन्। उनले नेपाली फिल्म होस्टेल ३मा भिलेनको भूमिकाबाट अभिनय यात्रा पनि सुरु गरेका थिए।

खान राष्ट्र निर्माण दलको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए। मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मिया अन्सारीको नेतृत्वमा गठन भएको उक्त दलले विभिन्न समुदाय र समूहलाई समेट्ने लक्ष्यसहित आफ्नो राजनीतिक यात्रा सुरु गरेको जनाएको थियो। सो पार्टीको चुनाव चिह्न पानीको बोतल रहेको थियो।

उक्त क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका अनिल रुँगटा तेस्रो स्थानमा रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय