काठमाडौं,२६ फागुन । पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आफ्नो जिम्मेवारी सकिएसँगै कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता गरेका छन्।
खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको रातो पासपोर्ट मंगलबार (फागुन २६) मा अर्थ मन्त्रालय को प्रशासन महाशाखामार्फत सरकारलाई बुझाएका हुन्।
प्रशासन महाशाखालाई लेखेको पत्रमा उनले कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै सो राहदानी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा फिर्ता गरिदिन आग्रह गरेका छन्।
पत्रमा उनले “अब प्रस्थानको तयारीमा छु। सार्वजनिक पद धारकका रूपमा आफ्नो कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” भन्ने उल्लेख गरेका छन्।
पदबाट बाहिरिएपछि सरकारी सुविधा तथा सम्पत्ति फिर्ता गर्ने प्रक्रियाअन्तर्गत उनले यो कदम चालेका हुन्। जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका खनालले कार्यकालका क्रममा कुनै अतिरिक्त सेवासुविधा नलिएको पनि बताइएको छ।

