मोजतबा खामेनीसहित १० इरानी अधिकारीमाथि अमेरिकाको इनाम घोषणा

spot_img

काठमाडाैं,३० फागुन । अमेरिकाले इरानका नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीसहित १० जना शीर्ष इरानी अधिकारीबारे सूचना उपलब्ध गराउने व्यक्तिलाई एक करोड डलरसम्म इनाम दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ती अधिकारीहरूको गतिविधिबारे उपयोगी जानकारी दिनेलाई उक्त रकम पुरस्कारस्वरूप प्रदान गरिने जनाएको हो।

अमेरिकाले सार्वजनिक गरेको सूचीमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, मेजर जनरल रहिम सफावी र अली अस्गर हेजाजी लगायतका उच्च अधिकारीहरू समावेश छन्। यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि क्षेत्रीय तनाव झन् बढेको बताइएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग द्वीपमा रहेका सैन्य ठेगानाहरू नष्ट गरिएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत अमेरिकी सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशाली कारबाहीमध्ये एक सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरेका छन्।

बीबीसीका अनुसार खार्ग द्वीप इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने मुख्य केन्द्र हो, जसलाई तेहरानको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेयता द्वन्द्व मध्यपूर्वका विभिन्न क्षेत्रमा फैलिएको छ। यस क्रममा इरान र हिज्बुल्लाहले इजरायलमाथि संयुक्त आक्रमण गरेको विवरण पनि सार्वजनिक भएको छ भने त्यसको जवाफमा इजरायलले लेबनान र इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको जनाइएको छ।

यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो देशको हवाई सुरक्षा तथा आक्रमणसम्बन्धी झुटा भिडियो क्लिप सार्वजनिक गरेको आरोपमा १० जनालाई पक्राउ गर्न आदेश दिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएकाे छ।

spot_img

ताजा अपडेट

लोकप्रिय