यूएईमा रहेका नेपालीलाई अफवाह नफैलाउन दूतावासको आग्रह

spot_img

काठमाडौं,०१ फागुन । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै यूएईमा बसोबास गरिरहेका नेपालीहरूलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गरेको छ।

दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मार्फत यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरेको हो। यस्तो सामग्रीले सुरक्षा अवस्थाबारे भ्रम फैलाउन सक्ने भएकाले जिम्मेवार व्यवहार गर्न नेपाली समुदायलाई अपिल गरिएको छ।

दूतावासका अनुसार यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुनको पूर्ण पालना गर्नुपर्ने भएकाले अनुमतिविनाका तथा गैरकानुनी गतिविधिमा संलग्न नहुन सचेत गराइएको छ। यस्तो कार्यमा संलग्न पाइए यूएईको कानुनअनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने चेतावनी दिइएको छ।

त्यसैगरी, मिसाइल वा ड्रोन अवरोध हुँदा जमिनमा खस्ने अवशेष नजिक नजान, त्यसको तस्वीर वा भिडियो नखिच्न तथा सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ। दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र सत्य तथा आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका स्रोतहरू मात्र हेर्न सुझाव दिएको छ। साथै अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज पनि नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।

यूएईको परराष्ट्र, रक्षा र गृह मन्त्रालय, दुबई तथा अबुधाबी मिडिया कार्यालय र इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचनामार्फत मात्रै जानकारी लिन दूतावासले आग्रह गरेको छ। दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय