काठमाडौं,१२ चैत । गृहमन्त्री ओमप्रकाश अर्याल लाई बिहीबार एक विशेष समारोहबीच औपचारिक रूपमा विदाई गरिएको छ। करिब ९० दिनको कार्यकाल पूरा गर्दै पदमुक्त भएका उनले आफ्नो कार्यकाललाई चुनौतीपूर्ण तर उपलब्धिमूलक रहेको बताएका छन्।
विदाई समारोहमा बोल्दै अर्यालले ‘जेनजी आन्दोलन’पछि देशमा असामान्य परिस्थिति सिर्जना भएको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको स्मरण गरे। सुरुवाती दिनमा देश अन्योलमा रहे पनि शान्ति सुरक्षा कायम गर्ने, सुशासन मजबुत बनाउने र निष्पक्ष निर्वाचन सम्पन्न गराउने तीन मुख्य लक्ष्यका साथ काम अघि बढाएको उनले बताए।
उनका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, हिंसा नियन्त्रण तथा कानुनी राज्यको पुनःस्थापनामा सरकार केन्द्रित भयो। यसक्रममा सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल उकास्दै अवस्था सामान्यीकरणतर्फ लैजान सफल भएको उनले दाबी गरे।
निर्वाचन हुने वा नहुने अन्योलबीच आवश्यक सुरक्षा तयारी र प्रशासनिक समन्वयमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गरिएको उल्लेख गर्दै उनले यसलाई लोकतन्त्रप्रतिको प्रतिबद्धताको उदाहरण बताएका छन्।
अर्यालले आफ्नो कार्यकालमा घाइतेहरूको उपचार, राहत वितरण, सेवा प्रवाह सुधार, कानुनी तथा प्रशासनिक सुधार, सुरक्षा निकाय सुदृढीकरण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। साथै, मन्त्रालयका उपलब्धिहरूलाई अभिलेखीकरण गरी नयाँ सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिए।
अन्त्यमा उनले नवनिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पँदै आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन्।

