काठमाडौं,१४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक प्रतिशोधको आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले आफूले पहिले नै चेतावनी दिएको भन्दै वर्तमान घटनाक्रम त्यसकै प्रमाण बनेको दाबी गरेका छन्। उनका अनुसार जुनसुकै दलले सत्ता सम्हाले पनि नेपालमा प्रतिशोधको राजनीति दोहोरिने जोखिम देखिन्छ।
उनले अबको राजनीतिक अवस्था आन्दोलनतर्फ उन्मुख हुने संकेतसमेत गरेका छन्। “अब हुने भनेको आन्दोलन मात्रै हो,” उनले लेखेका छन्।
भदौ २३ को ‘जेनजी आन्दोलन’ दमनसँग सम्बन्धित अभियोगमा पक्राउ परेका ओली र लेखकलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। ओलीलाई भने स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिएको बताइएको छ।

