काठमाडौं,१६ चैत । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई हिरासतबाट मुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालत मा बहस हुने भएको छ।
ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट आइतबार दायर गरिएको थियो। उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका छन्।
रिटमा जाँचबुझ आयोगको सिफारिस मात्रका आधारमा व्यक्तिलाई पक्राउ गर्नु कानूनसम्मत नभएको जिकिर गरिएको छ। यसै आधारमा ओलीलाई तत्काल रिहा गर्न माग गरिएको छ।
जेनजी आन्दोलन दमनसँग सम्बन्धित आरोपमा केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो। त्यसयता यो विषय राजनीतिक र कानुनी दुवै क्षेत्रमा चासोको केन्द्र बनेको छ।
आजको बहसले ओलीको हिरासतको वैधानिकताबारे महत्वपूर्ण कानुनी दिशा दिने अपेक्षा गरिएको छ।

