काठमाडौं,१६ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज पनि माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएको छ।
एमालेले ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप लगाउँदै विरोध कार्यक्रमलाई निरन्तरता दिएको हो।
पार्टीका सचिव महेश बस्नेतका अनुसार आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन आयोजना गरिएको छ। उनले कार्यकर्ताहरूलाई प्रदर्शनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।
एमालेले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप समेत लगाएको छ।
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले गत शनिबारदेखि नै काठमाडौंसहित देशभर विरोध प्रदर्शन गर्दै आएको छ।

