काठमाडौं,१६ चैत । गृहमन्त्री सुधन गुरुङ ले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गर्दै प्रहरी सेवामा सुधार आवश्यक रहेको बताएका छन्।
निर्देशनालय र विभिन्न विभागहरूको अवलोकनपछि उच्च प्रहरी अधिकृतहरूसँग कुरा गर्दै मन्त्री गुरुङले सर्वसाधारणसँगको व्यवहार सुधार्न विशेष ध्यान दिन निर्देशन दिए। उनले प्रहरीलाई अनुशासित, सेवामुखी र समाजका लागि उदाहरणीय संस्था बनाउनुपर्नेमा जोड दिए।
उनले भने, “प्रहरीको सेवा सुधार र अनुसन्धान प्रणालीलाई मजबुत बनाउन अत्याधुनिक प्रविधिको प्रयोग आवश्यक छ। अब परिणाम देखिने गरी काम गर्नुपर्छ।”
गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई प्रभावकारी बनाउन आन्तरिक सुधारसँगै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुपर्ने धारणा राखे। साथै, प्रहरीका लागि आवश्यक पोशाक उत्पादनमा आत्मनिर्भर बन्न गुणस्तरीय उद्योग स्थापना गर्नुपर्ने सुझाव समेत दिए।
उनको यो निरीक्षणलाई प्रहरी संगठनमा सुधार र आधुनिकिकरणतर्फको पहलका रूपमा हेरिएको छ।

