कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण: एमाले उपाध्यक्ष बादलसहित उच्च अधिकारीमाथि अनुसन्धानको बाटो खुला

spot_img

काठमाडौँ,१८ चैत । सर्लाहीका कुमार पौडेलको कथित गैरन्यायिक हत्या प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न परमादेश दिएपछि तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलमाथि पनि अनुसन्धानको दायरा विस्तार हुने देखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूमाथि अनुसन्धान गर्न गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला सरकारी वकिल कार्यालयलाई परमादेश जारी गरेको हो।

घटना तत्कालीन गृहमन्त्री बादलको कार्यकालमा भएको भएकाले उनीसहित तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका उच्च अधिकारीहरू पनि अनुसन्धानको घेरामा आउन सक्ने देखिएको छ।

कुमार पौडेलको मृत्यु ‘इन्काउन्टर’का नाममा गरिएको गैरन्यायिक हत्या भएको दाबी गर्दै परिवारले किटानी जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले प्रारम्भमा प्रक्रिया अघि नबढाएपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

सर्वोच्चले यसअघि पनि २०७८ सालमा अनुसन्धान गर्न आदेश दिएको थियो भने हाल पुनः परमादेश जारी गर्दै विस्तृत अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो।

पीडित पक्षका अनुसार उक्त घटनामा प्रहरी मुख्यालयबाट विशेष टोली खटाइएकाे थियो र उच्च तहबाट निर्देशन आएको आरोप छ। मानवअधिकार आयोगले समेत घटनामा प्रहरी नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको थियो।

अब अदालतको आदेशसँगै जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढ्नेछ, जसले उच्च राजनीतिक तथा सुरक्षा अधिकारीहरू समेत कानुनी दायरामा तानिन सक्ने देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय