काठमाडौं,१८ चैत । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः सक्रिय बनेको छ। वृशेषचन्द्र लाल नेतृत्वको यस पार्टीले जनता समाजवादी पार्टी नेपाल सँग भएको एकीकरण भंग गर्दै स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरेको हो।
यसअघि गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो। त्यसको केही समयपछि लोसपा र जसपा नेपालबीच पनि एकता भएको थियो। तर पछिल्लो घटनाक्रमसँगै तमलोपा फेरि आफ्नै पहिचानमा फर्किएको छ।
तमलोपाका नेता रविशंकरकुमार कर्ण ले पार्टी पुनः सक्रिय भएको जानकारी दिँदै संगठन पुरानै संरचनामा सञ्चालन भइरहेको बताएका छन्। उनका अनुसार पार्टी निर्वाचन आयोगमा दर्ता यथावत रहेकाले पुनर्गठनमा कुनै अवरोध नहुनेछ।
पार्टीभित्रका नेताहरूले एकीकरणका क्रममा गरिएका सहमति र प्रतिबद्धता पूरा नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार संस्थागत मूल्य, राजनीतिक मर्यादा र आत्मसम्मानलाई बेवास्ता गरिएपछि अलग हुने निर्णय गर्नुपरेको हो।
२०७९ सालको निर्वाचनमा तमलोपाले समानुपातिकतर्फ २ हजार ५८५ मत प्राप्त गरेको थियो। अब पुनः सक्रियतासँगै पार्टीले आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउने रणनीति बनाउने जनाएको छ।

