बीरगन्ज,२१ चैत । हनुमान जयन्तीको अवसरमा आज बीरगन्जमा वृहत् शोभा यात्रा आयोजना हुँदैछ। सो अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा ले विशेष अपिल जारी गरेको छ।
प्रहरीले शोभा यात्राका क्रममा सामाजिक सञ्जालमा कुनै पनि प्रकारका उत्तेजक सामग्री, अफवाह वा धार्मिक समुदायलाई लक्षित अभिव्यक्ति पोस्ट वा शेयर नगर्न सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधि भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
गत वर्ष शोभा यात्राका क्रममा छपकैया क्षेत्रमा दुई समुदायबीच झडप भई अवस्था तनावपूर्ण बनेको घटनालाई ध्यानमा राख्दै यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासन र सुरक्षा निकायहरूले विभिन्न धार्मिक तथा सामाजिक अगुवाहरूसँग छलफल गरी कार्यक्रमलाई व्यवस्थित बनाउने तयारी गरेका छन्।
आज दिउँसो २ बजे घण्टाघरबाट सुरु हुने शोभा यात्राले माईस्थान, हनुमान मन्दिर, विर्तामाई, छप्कैया छठघाट, रेल्वे रोड, अमर चोक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल हुँदै पुनः घण्टाघरमा पुगेर समापन हुनेछ।
प्रशासनले सबै पक्षलाई शान्ति र सद्भाव कायम राख्दै धार्मिक कार्यक्रमलाई मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।

