काठमाडौं,२३ चैत । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेसँगै मुलुकमा इन्धन खपतमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ।
नेपाल आयल निगम का अनुसार हाल देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ। एक दिन थप बिदा हुँदा कुल खपतको करिब १० प्रतिशत अर्थात् दैनिक झण्डै ७ लाख ५० हजार लिटर इन्धन बचत हुन सक्ने अनुमान गरिएको हो।
निगमका प्रवक्ता मनोज ठाकुर ले यस निर्णयको वास्तविक प्रभाव मूल्याङ्कन गर्न कम्तीमा एक हप्ता कुर्नुपर्ने बताए। उनका अनुसार इन्धन बचतमा सकारात्मक असर पर्ने निश्चित भए पनि बजारको माग र प्रयोगको प्रवृत्ति बुझ्न समय लाग्नेछ।
मध्यपूर्वमा जारी तनावका कारण देखिएको पेट्रोलियम संकटलाई ध्यानमा राख्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निगमले सर्वसाधारणलाई बिदाको समय अनावश्यक यात्रा र निजी सवारी प्रयोगमा खर्च नगर्न आग्रह गरेको छ। “बिदा भन्दै घुमफिरमा निस्किए इन्धन बचतको उद्देश्य पूरा हुँदैन,” प्रवक्ता ठाकुरले बताएका छन्।
नेपालमा यसअघि पनि २०५६ र २०७९ सालमा दुई दिन बिदाको अभ्यास गरिएको थियो। तर सेवा प्रवाहमा समस्या आएपछि पछिल्लो निर्णय छोटो समयमै फिर्ता गरिएको थियो। यसपटकको निर्णय कति प्रभावकारी हुन्छ भन्नेबारे भने चासो कायम छ।

