सर्लाही दुर्घटना प्रकरण: क्षतिपूर्ति विवादमा प्रहरी–परिवारबीच आरोप–प्रत्यारोप

spot_img

सर्लाही,२३ चैत । सर्लाहीकाे चन्द्रनगर गाउँपालिका–२ बिर्ता बजारमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी ६१ वर्षीया शान्ति देवी ठाकुरको क्षतिपूर्ति विषयमा विवाद चर्किएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही ले पीडित परिवार सम्पर्कमा नआएको दाबी गरेको छ भने मृतकका आफन्तले भने कानुनअनुसारको क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्।

गत कात्तिक १६ गते भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ठाकुरको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको थियो। दुर्घटनापछि पक्राउ परेका चालक विशाल महतोमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भए पनि पछि धरौटीमा रिहा भएका थिए।

प्रहरीका अनुसार मृतकका श्रीमान् श्यामसुन्दर ठाकुरलाई उपचार, किरिया खर्च र क्षतिपूर्ति लिन आवश्यक प्रक्रिया अघि बढाउन पटक–पटक जानकारी गराइएको भए पनि उनी हालसम्म सम्पर्कमा नआएको जनाएको छ। साथै, घटनाको अनुसन्धान प्रतिवेदन समयमै जिल्ला सरकारी वकिल कार्यालय मलंगवा मा बुझाइसकिएको पनि स्पष्ट पारिएको छ।

तर, पीडित परिवारले भने दुई महिनाभन्दा बढी समय बित्दा पनि क्षतिपूर्ति नपाएको गुनासो गर्दै प्रहरीमाथि लापरबाही र पक्षपात गरेको आरोप लगाएका छन्। मृतकका छोरा सन्जित शर्माले घटनाका कागजातहरूमा समेत त्रुटि रहेको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

यसैबीच, प्रहरीले आरोपका आधारमा सार्वजनिक भएका समाचारलाई भ्रामक बताउँदै पीडित पक्षलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा सम्पर्क गरी प्रक्रिया अघि बढाउन पुनः आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय