कपिलवस्तु,२३ चैत । कपिलवस्तुमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका युवकलाई शहीद घोषणा गर्न माग गरिएको छ।
चैत ७ गते कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ बरगदामा भएको झडपका क्रममा प्रहरीको गोली पेटमा लागेर गम्भीर घाइते भएका २२ वर्षीय जितेन्द्र यादवको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
घटनापछि राष्ट्रिय एकता दल ले विज्ञप्ति जारी गर्दै मृतक यादवलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ।
दलका अध्यक्ष विनय यादव द्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई उचित क्षतिपूर्ति, जीवनभर पालनपोषणको व्यवस्था तथा घटनामा संलग्न प्रहरीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
संगठनले धार्मिक आस्थामाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र देशभर धार्मिक सद्भाव कायम गर्न सरकार गम्भीर हुनुपर्ने पनि जनाएको छ।
अध्यक्ष यादवले शान्तिपूर्ण आन्दोलनका क्रममा नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको टिप्पणी गर्दै घटनाको कडा भर्त्सना गरेका छन्।

