धनुषा,२३ चैत । मधेस प्रदेशमा यस वर्ष प्रतिकूल मौसम र किराको प्रकोपका कारण गहुँ उत्पादनमा गिरावट आउने संकेत देखिएको छ। चैतको सुरुवातमै आएको हावाहुरी र असिनापानीले गहुँबालीमा असर पारेपछि किसानहरू चिन्तित बनेका छन्।
धनुषा जिल्लामा मात्रै करिब ३४ हजार हेक्टर क्षेत्रमा गहुँ खेती हुँदै आएको छ। तर, बाली पसाउने र पाक्ने संवेदनशील समयमा आएको खराब मौसमले दाना राम्रोसँग नलाग्दा उत्पादन घट्ने देखिएको हो। जनकपुर–२३ का किसान विला शाहका अनुसार समयमै सिँचाइ र मलखाद प्रयोग गरे पनि यसपालि उत्पादन निराशाजनक भएको छ। “किराको प्रकोप र मौसम प्रतिकूल हुँदा दाना राम्रो भएन, लगानी नै उठ्ने अवस्था छैन,” उनले गुनासो गरे।
मुखियापट्टीका रामजी यादवले पनि हावाहुरीका कारण बाली सुक्दै गएको र दाना कालो तथा अपुष्ट भएको बताए। नगराइन–५ का ज्योति झा भने ऋण लिएर गरिएको खेतीबाट आम्दानी नहुँदा जीविकोपार्जनमै समस्या पर्ने चिन्तामा छन्।
कृषि ज्ञान केन्द्र धनुषाका कृषि अधिकृत गणेश क्षेत्री का अनुसार क्षतिको यकिन विवरण आउन बाँकी भए पनि केही स्थानमा बालीमा असर देखिएको छ। “स्थानीय तहबाट तथ्याङ्क आएपछि मात्र वास्तविक क्षति भन्न सकिन्छ,” उनले बताए।
विगतका वर्षहरूमा उत्पादनमा उतारचढाव भए पनि यसपालि उत्पादन उल्लेखनीय रूपमा घट्ने अनुमान गरिएको छ। मधेस प्रदेश गहुँ उत्पादनका हिसाबले अग्रणी मानिए पनि गुणस्तरीय बिउ, मलखाद र सिँचाइको अभावले किसान समस्यामा परेका छन्।
पोषणका दृष्टिले महत्त्वपूर्ण गहुँमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर र भिटामिन प्रशस्त पाइने चिकित्सक डा. जयन्त मिश्र बताउँछन्। कृषि क्षेत्रमा पर्याप्त सहयोग नपाउँदा किसानहरू निराश बन्दै गएको र वैदेशिक रोजगारीतर्फ आकर्षित हुने क्रम बढ्ने खतरा पनि देखिएको छ।

