काठमाडौं,२३ चैत । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारलाई लिएर अनावश्यक त्रास फैलाइएको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको भेटमा उनले सरकारले साना लगानीकर्तामाथि कुनै धरपकड अभियान नचालेको स्पष्ट पारे।
उनका अनुसार नेपालको सेयर बजार पारदर्शी र व्यवस्थित क्षेत्रमध्ये एक हो। पेपरलेस कारोबार, बैंकमार्फत भुक्तानी, लाभांश सिधै खातामा जम्मा हुने व्यवस्था र स्पष्ट कर प्रणालीका कारण बजार विश्वसनीय रहेको उनले बताए। साथै, यसलाई डिजिटलाइजेसनको नमुना क्षेत्रका रूपमा समेत सरकारले अघि बढाइरहेको उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले सेयर बजारमा लगानीकर्ताको सम्पत्तिको स्रोतबारे सोधपुछ गर्ने नीति नरहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ वा बजार चलखेलजस्ता अनैतिक गतिविधि भएमा भने कानुनअनुसार कारबाही हुने बताए।
उनले हालको बजार घट्दो अवस्थालाई लिएर नआत्तिन सुझाव दिँदै सुधारका लागि आवश्यक कदम चालिने बताए। नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरी आगामी दिनमा सुधार प्रक्रिया अघि बढाइने र नीतिगत प्रतिबद्धताहरू कार्यान्वयन गरिने जानकारी दिए। “छोटो समयको उतारचढावले नअत्तालिनुस्, सुनौलो दिन आउँदैछन्,” उनले भने।
यसैबीच, उनले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको पनि बताए। यसले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि र लगानी वातावरणमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।
सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधका अनुसन्धान प्रमाणका आधारमा भइरहेको उल्लेख गर्दै उनले ‘ह्वाइट कलर’ अपराधमा आर्थिक जरिबानालाई प्राथमिकता दिने नीति अपनाइने बताए।

