काठमाडौं,२४ चैत । रूपन्देहीको रोहिणी गाउँपालिकामा लागूऔषध नियन्त्रण अभियानका क्रममा प्रहरी र तस्करबीच झडप हुँदा गोली प्रहार भएको छ। घटनामा एक जना घाइते भएका छन् भने तीन जनालाई पक्राउ गरिएको छ।
रोहिणी–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले युपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा सवार व्यक्तिहरूले प्रतिकार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर र दुई राउन्ड लक्षित गोली प्रहार गरेको जनाएको छ।
प्रहरीको गोली लागेर रोहिणी–२ का विशाल यादव घाइते भएका छन्। उनको बायाँ खुट्टामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनास्थलबाट घाइते यादवसहित भारतका महाराजगञ्ज निवासी १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध—फेनरागन, डाइजेपाम र ब्रुफिनका ११००–११०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, काठमाडौंको गौशाला–पिङ्गलास्थान क्षेत्रमा पनि लागूऔषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। यी घटनाले सीमापार लागूऔषध तस्करी सञ्जाल सक्रिय रहेको संकेत गरेको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

