काठमाडौं,२४ चैत । देशभर मंगलबारको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा मौसम अस्थिर रहने देखिएको हो।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा बदली कायम रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
मौसमविद्हरूले विशेषगरी पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई चट्याङ र वर्षाबाट सतर्क रहन आग्रह गरेका छन्।

