मानव, पशु र वातावरण स्वस्थ नभए पूर्ण स्वास्थ्य सम्भव छैन : स्वास्थ्य मन्त्री

spot_img

काठमाडौं,२४ चैत ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपन्छी र वातावरणबीचको गहिरो सम्बन्ध औंल्याउँदै ‘एक स्वास्थ्य’ अवधारणालाई मजबुत बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छन्।

विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने स्पष्ट पारिन्। उनका अनुसार अहिलेको समयले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीचको समन्वयलाई अनिवार्य बनाएको छ।

मन्त्री मेहताले संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै पछिल्लो समय नयाँ प्रकारका स्वास्थ्य चुनौतीहरू बढ्दै गएको उल्लेख गरिन्। उनले पशुपन्छीबाट सर्ने रेबिजजस्ता रोग, जलवायु परिवर्तनका कारण फैलिने किटजन्य रोग तथा वातावरणीय प्रदूषणले क्यान्सर, मुटुरोग र मस्तिष्कघातजस्ता समस्याहरू बढाएकोप्रति चिन्ता व्यक्त गरिन्।

एन्टिमाइक्रोबियल औषधिको अनियन्त्रित प्रयोगबाट उत्पन्न ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ लाई गम्भीर खतरा भन्दै उनले यसको नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताइन्।

सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ लागू गरिसकेको जानकारी दिँदै मन्त्री मेहताले रोग निगरानी प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

उनले नागरिकलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई नियमित खोप लगाउन र चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्न आग्रह गरिन्। साथै, जनचेतना विस्तारमा सञ्चारकर्मी र संघसंस्थाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्।

यस वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपन्छी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नारासहित मनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय