काठमाडाै,२४ चैत । बहुविवाह मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका दुई जनालाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले विरुवा गाउँपालिका–४ का ५२ वर्षीय हुमबहादुर थापा (उमाकान्त पोखरेल) र ४६ वर्षीया शारदादेवी पोखरेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०५३ साल वैशाख १९ गते दर्ता भएको बहुविवाह मुद्दामा अदालतले उनीहरूलाई दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो। तर सजायबाट बच्न उनीहरू लामो समयदेखि भारतमा लुकेर बस्दै आएका थिए।
विशेष सूचनाका आधारमा पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
अदालतको आदेशअनुसार उनीहरूलाई दुई महिनाको कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरी उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।

