काठमाडौं,२५ चैत । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र अमेरिका दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन्। पाकिस्तानी नेतृत्वको कूटनीतिक पहलपछि भएको यो सहमतिले तत्कालका लागि ठूलो द्वन्द्व टर्ने संकेत दिएको छ।
डोनाल्ड ट्रम्प ले इरानमाथि कडा चेतावनी दिएको केही घण्टामै यस्तो सहमति भएको हो। उनले सामाजिक सञ्जालमार्फत पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखको आग्रहलाई सम्मान गर्दै आक्रमण रोक्ने निर्णय गरेको बताएका छन्।
इरानका तर्फबाट सर्वोच्च नेताको अनुमतिपछि युद्धविराममा सहमति जनाइएको हो। इरानी पक्षले यसलाई ‘रणनीतिक सफलता’ भन्दै आफ्ना सर्तहरू स्पष्ट राखेको छ। इरानले आक्रमण रोकिए आफू पनि लडाइँ रोक्न तयार रहेको जनाएको छ।
सहमति अनुसार ‘होर्मुज जलडमरूमध्य’ मार्फत हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन सुरक्षित बनाइनेछ, जुन विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग हो।
यद्यपि युद्धविराम भए पनि केही क्षेत्रमा तनाव कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विश्लेषकहरूका अनुसार यो सहमति दीर्घकालीन समाधानभन्दा पनि अस्थायी शान्तिको प्रयास मात्र हो।

